धनगढी । कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यसहित सोमबार सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रमको उद्धाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन । सो अवसरमा उनले रक्तदान अहिलेको आवश्यकता रहेको बताइन् । उनले विशेषतः विरामीहरुको ज्यान जोगाउन रगत आवश्यक पर्ने भएकाले त्यसको पुर्ति गर्न सबैले रक्तदान गर्न जरुरी रहेको बताइन ।

सुदूरपश्चिमका केही सीमित जिल्लामा मात्र ब्लड बैंक स्थापना गरिएको औल्याउँदै उनले भनिन्,  ‘मन्त्रालयले छिट्टै नौ वटै जिल्लामा ब्लड बैंक स्थापनाका लागि गृहकार्य गरिरहेको छ ।’